अभिभावक शिक्षा 

गर्भावस्थादेखि आठ वर्षसम्मको उमेर बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, सामाजिक, संवेगात्मकर साँस्कृतिक पक्षको विकास गरी अन्तर निहित प्रतिभा प्रस्फुटन गराउने दृष्टिले अत्यन्तै महत्त्वपूर्ण अवस्था हो । प्रारम्भिक उमेरमा सिकेका र अनुभव गरेका आधारभूत ज्ञान, सिप, व्यवहार र बानीहरू नै भावी जीवनको आधार शिलाका रूपमा स्थापित हुने गर्दछन् ।

यसमा अभिभावकको भूमिका नै मुख्य र हने तथा हरेक बालबालिकाको सुन्दर भविष्य अभिभावकको अन्तिम लक्ष्य समेत भएकोले यस उमेर समूहका बालबालिकाको विकासात्मक पक्षहरू र यसमा अभिभावकले निर्वाह गर्नुपर्ने भूमिकाबारे उनीहरूको क्षमता विकास तथा सचतेना अभिवृद्धि आवश्यक हुन्छ ।

प्रारम्भिक बाल्यावस्था (गर्भावस्थादेखि आठ वर्षसम्म) मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण अवस्था हो । यस अवस्थामा बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकासको आधार बन्दछ । यही अवस्थामा बालबालिकाले जस्तो अनुभव पाउँछन्, भावी जीवन उस्तै हुन्छ । शिशु गर्भमा रहँदा वा शिशुको जन्मपछि बालबालिकाको उचित स्याहार र विकासको अवसर प्रदान गर्ने जिम्मेवारी अभिभावकहरूको हुन्छ ।

अभिभावक भन्नाले आमाबुबा, हजुरआमा, हजुरबुबा, दाइदिदी र अन्य स्याहारकर्ताहरू हुन् । बालबालिकाको पहिलो माया, सहारा, गुरु, संरक्षक, साथी, आमाबुबा वा अभिभावक नै हुन् ।

बालबालिकालाई पालनपोषण, स्याहारसुसार, स्वास्थ्य, सरसफाइ, सुरक्षा, उत्प्रेरणा, खेल, कुराकानी र स्नेहपूर्ण व्यवहारले विकासमा प्रत्यक्ष सहयोग पुर्‍याउने तथा कानुनी हक अधिकार दिलाउने जिम्मेवारी अभिभावकत्व हो । अभिभावक बिना शिशुको लालनपालन असम्भव हुन्छ । 

अभिभावकको विशेषगरी, बालबालिकाको भावना, संवेदनशीलता, आचरण, व्यवहार, स्वभाव, आत्मविश्वास, आत्मसम्मान, सिक्ने क्षमता, सामाजिक सम्बन्ध कायम गर्ने सिप विकासमा महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले बालबालिकाको पहिलो विद्यालय उनीहरूको घर र अभिभावक पहिलो शिक्षक हुन् ।


Source: Unicef


Scroll to Top
Scroll to Top